निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउँछ- प्रधानमन्त्री देउवा


हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।
आजदेखि हेटौंडामा सुरु भएको काँग्रस निकट नेपाल प्रेस युनियनको ९औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नियोजित रूपमै लाञ्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा राखोका हुन् ।

राजनीतिक स्थायित्वका लागि निष्पक्ष रुपमा कलम चलाउन उनले पत्रकाहरुलाई आग्रह समेत गरे । परिर्वतनका लागि भएका नेपालका हरेक आन्दोलनमा नेपाली प्रेस जगतको भूमिका महत्वपुर्ण रहँदै आएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘राजनीतिक स्थायित्वको विषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने हुन्छ, देशमा परिवर्तनका लागि भएका हरेक आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ,’ देउवाले भने ।

सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुने र लोकतन्त्रलाई बलियो बनाउने उनले बताए । कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको समेत बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमै संघ र प्रदेशको निर्वाचनको मिति तोकिने भएकाले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन पत्रकारहरुलाई अनुरोध समेत गरे ।

उद्घाटन समारोहलाई बोल्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण्ण राख्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल श्रीलंका पथमा जाँदैछ भन्ने अफवाह चिर्नका लागि स्वतन्त्र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट युनियनमा आवद्ध पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडा पुगेका छन्। भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयां नेतृत्वक लागि संस्थापन र इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेशनमा युनियनको नयां नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इत्तर पक्षबाट शिव लम्सालले उम्मेदवारी दिएका छन्। दुई प्यानल खडा गरेर हुने निर्वाचनमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । नयां नेतृत्वका लागि भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार