
काठमाडौं । नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नर्फकने बताएका छन् ।
सरकार हुँदा देशको संविधान नष्ट गर्ने षडयन्त्र गरेको र परिर्बनविरोधी काम गरेर संसदको दुई दुई पटक हत्या गरका कारण एमाले जनताबाट तिरस्कृत भएकाले अबको २० बर्षसम्म पनि शासनमा आउन नसक्ने नेता यादवले ठोकुवा गरेका छन् ।
आज काठमाडौमा भएको एक साक्षात्कार कार्यक्रममा नेता यादवले देशको संविधान र परिर्बतनको रक्षा गर्दै देशको विकास र समृद्धीका लागि स्थायी सरकार आवश्यक हुँदा सत्ता गठबन्धन लामो समयसम्म रहनुपर्नेमा जोड समेत दिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेरै जाने सहमतीअनुसार सिट बाँडफाँट हुने उनले बताए ।
नेता यादवले १६५ सिटमध्ये काँग्रेसले १०० सिटमा दावी गर्ने भएपनि गठबन्धनभित्र सहमति कायम गर्नका लागि ९० सिटसम्म काँग्रेसलाई चाहिने बताए ।
उनले नागरिकता विधेयक दुवै सदनबाट पास भैसकेको र प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको बताउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह पनि गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोकेको आरोप लगाए । राष्ट्रपति भण्डारी अहिले पनि पार्टीको राजनीति भन्दा माथि उठ्न नसकेको बताए ।













