
काठमाडौं । बन्चरेडाँडामा फोहोर फाल्न स्थानियहरुले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हान्दै हवाईफायर गरेको छ ।
काठमाडौं उपत्यकाको फोहोर बोकेर गएका गाडीहरुलाई सिसडोलमा अवरोध गरेर बञ्चरेडाँँडा लैजान नदिएपछि आज बिहानदेखि तनाव भइरहेको छ ।
स्थानियलाई अवरोध हटाउन आग्रह गर्दापनि नमानेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको प्रहरीले जनाएको छ । बिहानदेखि रोकिएका फोहोरको गाडीहरु अगाडी बढाउन खोज्दा स्थानीयले ढुंगामुडा गरेपछि प्रहरीले तितरबितर गर्न अश्रुग्याँस र हवाई फायर गर्न बाध्य भएको नुवाकोट प्रहरीले जनाएको छ ।
अहिले त्यहाँ निकै तनावको स्थिती पैदा भएको छ ।
अवरोध गरिरहेकालाई प्रहरीले मकैबारी र धानखेतबाट लखेटेपछि डाँडामा रहेका अन्य स्थानीयहरुले प्रहरीतर्फ ढुंगा र गुलेली हानेपछि झडप भएको थियो । प्रहरीका अनुसार उत्पन्न तनावको अवस्था सामान्य पार्ने र रोकिएका गाडीहरु बन्चरेडाँडा लैजाने वातावरण बनाउने प्रयास भइरहेको छ ।










