
काठमाडौं । योङ कम्युनिष्ट लिग (वाइसियल) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पछिल्लो कामको स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसियलका अध्यक्ष सुवोध सेर्पालीले मेयर बालेनको अवैध संरचना हटाउने कार्यको स्वागत गर्दै जनताको पक्षमा गरिने काममा सदैव आफुहरुको साथ रहने बताएका छन् ।
उनले आज सामाजिकसंजालमा प्रतिकृया दिदैं पार्किङ स्थलहरूमा बनाइएको अवैध संरचनाहरु भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको समेत बताएका छन् ।
‘काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा अनाधिकृत ढङ्गले संचालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी ब्यवशाय संचालन गर्दा सप्रमाण सहित भवन, टहरा, एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकाथरि मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ’, अध्यक्ष सेर्पालीले स्टाटेसमा लेखेका छन् ।
जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिन पनि उनले चेतावनी दिएका छन् ।
‘केही गर्छु भन्ने अठोट गरि जनताबाट स्वतन्त्र रुपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फुल निमठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ । मेयरज्यू अघि बढ्नुहोस्, आफ्नो वा पराई कोहि नभनी सधैं जनताको राज्यको भौतिक सम्पतिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका बिरुद्द जनमतको साथ लिएर लम्कनुस अवस्य पनि सफलता मिल्नेछ’, अध्यक्ष सेर्पालीले लेखेका छन्।
शक्तिको आडमा बसेर कानुन विपरीत मनपरी गर्ने छुट कसैलाई पनि भएको उनको भनाई छ ।










