कार्यकर्तालाई ओलीले भनेः निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रनु


सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धाँधली भए पतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै अध्यक्ष ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई त्यसबारे सचेत रहन पनि आग्रह गरे। सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार निर्देशन दिएका छन् ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु’, अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले मंसिर ४ गतेको चुनावपछि एमालेले बहुमतको सरकार बनाउने दावी पनि गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार