प्रचण्डले भने: चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन


कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा आफुहरुबीच अहिले नै कुनै छलफल नभएको बताएका छन् ।

कास्कीको पोखरामा संचारकर्मीहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को चुनावपछि को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै सत्ता गठबन्धनमा छलफल गर्ने पक्षमा आफूहरू नरहेको समेत बताएका छन्। ‘चुनावअघि प्रधानमन्त्री तोकेर जाने मुडमा गठबन्धन र म छैन,’ अध्यक्ष प्रचण्डले भने।

चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्ने चर्चा भइरहेका बेला उनले त्यसमा आफ्नो दावी नरहेको बताए ।

अहिले नै प्रधानमन्त्री बन्ने दौडमा आफू नरहेको र चुनावपछिको अवस्था हेरेर मात्रै छलफल गर्न सकिने उनको भनाई छ । चुनावपछि प्रधानमन्त्री को हुने भन्ने विवादका कारण गठबन्धनमा सिट बाँडफाँट हुन नसकेको हो? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले त्यसमा सत्यता नरहेको बताए।

‘मैले धेरै पहिलेदेखि भनेको छु, प्रधानमन्त्रीकै इच्छा गरेको भए २०७४ मै पाँचै वर्षका लागि म प्रधानमन्त्री हुन सक्थें। मेरा लागि त्यो ढोका खुला थियो। तर मैले वाम एकतालाई ठूलो माने र विकास ठूलो भनेर त्यसबेला प्रधानमन्त्री छाडेको हो, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा हाम्रो छलफल भएको पनि छैन गर्ने पक्षमा पनि अहिले छैनौं। अहिले पनि प्रधानमन्त्री बन्न चाहने हो भने बन्ने स्थिति छ तर म बन्न हुन्न। देशका लागि फाइदाजनक हुन्न। त्यसकारण म अहिले प्रधानमन्त्रीको रेसमा छैन भनेको छु। अब चुनावपछि के हुन्छ चुनावी परिणामले देखाउँछ’, पचण्डले भने ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार