देशको आर्थिक स्थिति बलियो हुन कृषिमा आधारित उद्योगहरुको विकास हुनुपर्छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास हुनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास हुनुपर्ने बताएका हुन् ।

उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएकाले अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्नेमा जोड दिए।
त्यस्ता उद्योगहरु खोल्नका लागि युवाहरुलाई सरकारले सहयोग र प्रोत्साहन गर्नुपर्ने पनि बताए ।

देशको अर्थतन्त्र विकासका लागि कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिज तत्वतर्फ पनि युवा उद्योगीहरुको ध्यान जानुपर्ने प्रचण्डले बताए ।
नेपाल पहिला खाद्यान्नमा आत्मनिर्भर हुँदै विदेशमा समेत निर्यात गर्दै आएकोमा अहिले आफै खाद्यान्न आयात गर्ने अवस्थामा पुग्नु निकै चिन्ताको बिषय रहेको उनको भनाई छ ।

‘कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ। यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ’, प्रचण्डले भने ।

अध्यक्ष प्रचडले देशको व्यवस्था बदलिसकेपछि अब आफ्नो बाँकी जीवन देशको तिर्व आर्थिक विकासका लागि खर्चिने समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार