मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्वोधन


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका छन् । आज मन्त्रालयमा “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रमको तेस्रो अँकमा प्रत्यक्ष फोनमार्फत कुरा गर्दै उनले ९ जना श्रमिकका गुनासो सम्वोधन गरेका हुन् ।

श्रमिकले प्रत्यक्ष फोनमार्फत मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा फिर्ता नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासाहरु राखेका थिए ।

जवाफमा मन्त्री कुँवरले उनिहरुका गुनासा र समस्याहरुबारे तत्काल सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए । पछिल्लो समय मन्त्रालयमा ठगिएका गुनासो बढि आउने गरेकाले त्यसका लागि मन्त्रालयले सहजिकरण गर्ने बताए ।

साथै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताए ।
म्यानपावरहरुले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण उनिहरुको रकम फिर्ता र कारवाही गर्नमा समस्या भइरहेको उनले बताए।

मन्त्री कुँवरले श्रमिकलाई म्यानपावरले पैसा मागेपछि पैसा बुझाएको रसिद वा कुनै प्रमाण आफुसंग राख्न समेत आग्रह गरेका छन्।
मन्त्रालयको कल सेन्टरमा श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा अहिलेसम्म २९ जना श्रमिकले देश र विदेशबाट प्रत्यक्ष मन्त्रीसँग आफ्ना गुनसाहरु राखिसकेका छन्।

उक्त गुनासाहरुमध्ये मन्त्री कुँवरले तत्काल सम्वोधन गर्ने खालका भए तत्कालै र प्रकृयागत रुपमा सामाधान हुने गुनासोहरु वैदेशिक रोजगार विभाग र बोर्डमार्फत समाधानका लागि पहल गर्ने गरेको मन्त्रालयले जनाएको छ ।
“श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमार्फत प्रत्यक्ष संञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार