सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी देशको कार्यकारी प्रमुख हुन संकेत गरेका छन् ।
संविधान दिवसकै दिन सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरेको र अब देशको विकास र समृद्धिको नेतृत्व गर्ने चाहाना भएको बताएका हुन् ।
‘जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ’, अध्यक्ष प्रचण्डले भने ।
उनले आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको दाबी समेत गरे। उनले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए ।
समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना रहेको भन्दै प्रचण्डले समाजवादमार्फत मात्रै देश समृद्ध हुने बताए । जनयुद्धमार्फत सामन्तवादको अन्त्य गरी वर्तमान संविधान जारी गर्न सफल भएको प्रचण्डको तर्क छ ।