
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अहिले आफ्नो कामले निकै चर्चामा छन् । मेयर बने लगत्तै फोहर ब्यवस्थापनको बिषयले उनि चर्चा रहे भने अहिले काठमाडौंमा बनेका अवैध संरचना हटाउने कार्यले चर्चामा छन् ।
अवैध संरचना हटाउने कार्यले उनको प्रशंसा भइरहेको छ भने केहिले विरोध पनि गरिरहेका छन् । यद्यपी अधिकांसले बालेनको कामलाई सर्मथन गरेका छन् । तर, उनै बालेनले स्थानिय तहको चुनावमा आफुले गरेको खर्च विवरण निर्वाचन आयोगमा नबुझाउँदा जरिवाना तिर्न बाध्य भएका छन् ।
निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोल लगायत देशभरका २०८ जना मेयर र उपमेयरले आफ्नो चुनावी खर्च विवरण नबुझाएको भन्दै आयोगले सूचना नै जारी गरेको छ ।
यसरी तोकेको समयमा चुनावी खर्च विवरण नबुझाउँदा बालेन लगायत देशभरका मेयर र उपमेयरले साढे सात लाख जरिवाना तिर्नुपर्ने छ ।
यस्तै आफ्नो चुनावी खर्च विवरण नबुझाउनेहरुमा पोखराका मेयर धनराज आचार्य, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, वीरगन्ज महानगरपालिकाका मेयर राजेश मानसिंह र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका छन्। उनीहरुले निर्वाचन कानुनअनुसार ६ महिनाभित्र जरिवाना तिर्नुपर्नेछ । जरिवाना नतिरेको खण्डमा पद नै जाने कानुनी व्यवस्था रहेको छ।










