
काठमाडौँ । उडिरहेको विमानको ककपिटमा अन्र्तवार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमले पाइलट विजय लामालाई उडानमा रोक (ग्राउन्डेड) लगाइएको छ ।
नियमनकारी निकायको अनुमति नलिई भिडियो अन्तर्वार्ता दिएको अभियोगमा उनलाई जहाज उडानमा रोक लगाइएको छ ।
वायुसेवा तथा उड्डयनकर्मीहरूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागको निर्देशनअनुसार निगमको अपरेसन विभागले पाइलट लामालाई आइतबारदेखि विमान उडानमा रोक लगाएको हो ।
‘उडान सञ्चालन नियमविपरीत उडिरहेको विमानमा भिडियोग्राफी गरेको उजुरीका आधारमा पाइलट लामालाई विमान उडानमा रोक लगायएको निगमको अपरेसन विभागले जारी गरेको कारबाहीपत्रमा उल्लेख छ।
पाइलट लामालाई दुई दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पनि भनिएको छ।
लामाले दुबईबाट काठमाडौं आउँदै गरेको निगमको विमानमा एक विदेशी भ्लगरलाई भिडियो अन्तर्वार्ता दिनुका साथै अनुमति नलिई भिडियोग्राफी गर्न दिएका थिए । अनुमती नलिई यस्ता क्रियाकलापले उडान सुरक्षामा असर पार्न सक्ने बताइन्छ ।












