
गोरखा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झोतादेखि नै माओवादी र कांग्रेसबीच गठबन्धन सुरु भएको बताएका छन् ।
आज गोरखा क्षेत्र नम्बर २ को पालुङटार बजारमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विस्तृत शान्ति सम्झौता देखि नै माओवादी र काँग्रेसबीच गठबन्धन सुरु भएको बताएका हुन ।
उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दा आफूले रुखमा छाप र तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको समेत बताए।
उनले माओवादी र काँग्रेसबीचको त्यो ऐतिहासिक घटनालाई सम्झेर अहिले बनेको सत्ता गठबन्धनलाई जिताउन काँग्रेस मतदाताले हंसिया हथौडा र माओवादी मतदाताले रुखमा भोट हाल्न अपठ्यारो मान्न नहुने बताए ।
सत्ता गठबन्धनले संविधानको रक्षा गर्दै विकास र समृद्धिको मुख्य लक्ष्य लिएर अघि बढेकाले वहुमतका साथ जिताउन उनले आग्रह गरे। अध्यक्ष प्रचण्डले जबसम्म संविधानमाथि र जनताका अधिकार खोस्ने खतरा रहन्छ तबसम्म सत्ता गठबन्ठन कायम रहने समेत बताए।
गोरखाबाट उम्मेदवार समेत रहेका प्रचण्डले आफुले गोरखाबाट सुरु गर्ने विकास र समृद्धिको यात्रा देशभरीनै देखिने बताए ।










