माओवादी केन्द्रको बैठक आजपनि बस्दै, गठबन्धनलाई निरन्तरता वा एमालेसँग सहकार्यबारे छलफल


काठमाडौ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा हुने जनाइएको छ।

बैठकमा नयां सरकार गठनबारे अहिलेकै सत्ता गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा ठोस छलफल हुने नेताहरुले बताएका छन् । हिजो बसेको बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान सबै विकल्प खुला रहेको बताएको थियो ।

सम्पन्न चुनावमा माओवादी तेस्रो दल बनेको छ । नयां सरकार गठनका लागि निर्णायक शक्ति बनेको माओवादीले काँग्रेस लगायतका दलहरुको सत्ता गठबन्धनलाई नै निरन्तरता दिने वा एमालेसंग सहकार्य गर्ने भन्नेबारे गहन छलफलपछि मात्रै निर्णय गर्ने जनाएको छ ।

एमाले र माओवादीका नेताहरुबीच वाम एकता गरेर अघि बढ्नेबारे पनि छलफल भइरहेका बताइन्छ । तर, सरकारको नेतृत्व गरिरहेका काँग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर जानुपर्ने बताएका थिए । त्यसमा प्रचण्ड पनि सकारात्मक रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार