
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै आज कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।
पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै रास्वपाका कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा मतको आधारमा १३ सिट पाएको छ । समानुपतिकको १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेल नगरी सबैलाई समेटेर लैजान नेतृत्वलाई सचेत गराएका उनिहरुको भनाई छ।
रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यो पार्टी संसदमा चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
हिजो मात्रै निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेपछि अहिले ति दलहरु समानुपातिक सांसदके नामवली तयार पार्नमा व्यस्त छन् ।
रास्वपाले समानुपातिकमा पाएको १३ सिटमध्ये आदिवासी जनजाति र खस आर्यबाट ३/३, दलित र मधेशीबाट २/२, पिछडिएका वर्ग, थारू र मुस्लिमबाट १/१ जना सांसद बनाउनुपर्ने छ।









