
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तह एकताबद्ध भएर लाग्न आवश्वयक रहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन्। उनले तीनवटै तहलाई संघीयता कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्न उनले आह्वान पनि गरे।
मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको देउवाको भनाई थियो । संघीय सरकारले तदारुकता देखाई संघ, प्रदेश र स्थानीय तहलाई क्रमशः कानुन बनाउन तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको बताउँदै प्रधानमन्त्री देउवाले पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन आग्ह गरे ।
हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
स्थानिय तहमा सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा, विभेद अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई छ।
उनले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड पनि दिए ।
प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीति र विभेदहरूको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नेगरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताए ।








