“श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम पुनः सुचारु, मन्त्री कुँवरलाई आए यस्ता गुनासा


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम सुचारु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेस सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुचारु गरिएको हो ।

आज विहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।

कार्यक्रममा मन्त्री कुँवरसंग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरुले आफ्ना गुनासा, समस्या र सुझाव राखेको मन्त्रीका प्रेस संयोजक रमा खड्काले जानकारी दिइन् । उनकाअनुसार मन्त्रीसंग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका गुनासा र समस्याहरु बढि आएका छन् । मन्त्री कुँवरसंग श्रमिकहरुले सम्झौता अनुसार विदेशमा आफुले तलव सुविधा नपाइएको, तलवै नपाएका गुनासादेखि म्यानपावरहरुले ठगेकोसम्मका गुनासाहरु सुनाएका छन् ।

फोनमार्फत मन्त्री कुँवरलाई दुवई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढि आएका छन् ।
एकजना श्रमिकले सुर्खेतबाट फोन गर्दै आफुलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख ठगेको गुनासो मन्त्री कुँवरलाई सुनाएका छन् ।

दशजना श्रमिककै गुनासा र समस्याहरु सुनेपछि जवाफमा मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपुर्व जान लागेको देश, आफुले गर्ने काम, पाउने सेवा सुविधा, पठाउने म्यानपावर वा ब्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्ने लगायतका कुरामा ध्यानु दिनुपर्नेमा जोड दिए । साथै मन्त्री कुँवरले श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरुबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए ।

वैदेशिक रोजगारीमा जाँदा जाने ब्यक्तिले आफुले गर्ने काम, पाउने सुविधाबारे सजग हुने र पठाउने म्यानवापरहरु जिम्मेदवार भएमा यस्ता गुनासा र समस्याहरु आफै समाधान भएर जाने मन्त्री कुँवरको भनाई थियो । उनले गरिबी र बेरोजगारीका कारण विदेशीन वाध्य नेपाली श्रमिकहरुलाई जानाजान ठग्ने र दुख दिने जो कोहिलाई पनि सरकारले कडा कारवाही गर्ने चेतावनी समेत दिए ।

उक्त गुनासाहरुमध्ये मन्त्री कुँवरले तत्काल सम्वोधन गर्ने खालका भए तत्कालै र प्रकृयागत रुपमा सामाधान हुने गुनासोहरु वैदेशिक रोजगार विभाग र बोर्डमार्फत समाधानका लागि पहल गरिने मन्त्रालयले जनाएको छ ।

“श्रमिकसँग श्रम मन्त्री” कार्यक्रम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमार्फत प्रत्यक्ष संञ्चालन हुँदै आएको छ । मन्त्री कुँवरसंग फोनमार्फत प्रत्यक्ष कुरा गर्न मन्त्रायको टोल फ्रि नम्बर १६६००१५०००५, फोन नम्बर ०१-५९७०००८, ह्वाट्सअप, भाइवर ९८०१८०००३ र इमोबाट ९८०१३०००३३ मा सम्पर्क गर्न सकिन्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार