
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयबाट आज जारि विज्ञप्तिअनुसार एक हप्ताभित्र प्रधानमन्त्रीमा दावी पेस गर्न राष्ट्रपति भण्डारीले आव्हान गरेकी हुन् । उनले संविधानको धारा ७६ (२) बमोजिम नयां सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी हुन् ।
संविधानको धारा ७६ को उपधारा-१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा-२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी छन् । प्रधानमन्त्रीमा दाबी पेश गर्नका लागि पुस १० गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।
संविधानको धारा ७६ को उपधारा-२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने ब्यवस्था छ ।
एकहप्ताभित्र प्रधानमन्त्री छान्नका लागि दलहरुलाई निकै सकस हुने देखिन्छ । किनकी प्रधानमन्त्री दावीका लागि सुरुमा पार्टीको संसदीय दलको नेता निर्वाचित हुनुपर्नेछ । त्यसका लागि सत्ता गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको र चुनावमा पहिलो पार्टी बनेको नेपाली काँग्रेसमा सकस देखिन्छ । अबको नयां सरकारको नेतृत्व काँग्रेसले गर्ने दावी गरिरहेको छ ।
काँग्रेसभित्र प्रधानमन्त्रीका दावेदार महामन्त्री गगन थापा लगायतका छन् भने पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दोहोरिने भनिरहेका छन् । यस कारण पनि काँग्रेसलाई एकहप्ताभित्रै प्रधानमन्त्रीको उम्मेदवार छान्न कठिन देखिन्छ ।
त्यसैगरी सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीमा दावी गरिरहेको छ ।
चुनावी मत परिणामअनुसार सत्ता गठबन्धनकै सरकार भन्ने देखिए पनि सजिलै काँग्रेस र माओवादी दुबैले प्रधानमन्त्रीमा दावी छोड्ने स्थिती छैन् । यदि सत्ता गठबन्धनमा सहमतीमा प्रधानमन्त्री छान्न सकिएन र गठबन्धन टुट्नेस्थितीमा माओवादी र एमालेसहितको नयां गठबन्धनको सरकार पनि बन्न सक्ने देखिन्छ ।
राष्ट्रपति कार्यालयबाट जारि विज्ञप्ति











