
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको सरकार बन्नेमा ढुक्क हुन आग्रह गरे । आज काठमाडौंमा पार्टीको संसदीय दलको नेताबारे शेखर कोइराला समुहको बैठकमा सहभागी हुँदै उनले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर आगामी गठबन्धनकै नयां सरकार बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।
महामन्त्री शर्माले चुनावमा जाँदा गठबन्धन बनाएरै जनतासंग मत मागेकाले सरकार पनि गठबन्धनकै बन्ने दावी गरे । उनले गठबन्धनको विकल्पबारे सोच्न पनि नहुने बताए ।
नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा जसतो परिणाम आएपनि गठबन्धनलाई सबल बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले प्रधानमन्त्री, राष्ट्रपति लगायतका पदमा गठबन्धनबीच साझा सहमति गरेर अघि बढ्नुपर्ने पनि बताए । महामन्त्री शर्माले सरकारको नेतृत्व भने कांग्रेसले गर्ने जिकिर गरे। गठबन्धनामा प्रधानमन्त्रीको दावेदार माओवादी केन्द्र पनि हो । चुनावपछि बन्ने सरकारको नेतृत्व माओवादीले गर्न पाउनुपर्ने यसअघिको सहमती रहेको उसको दावी छ ।








