
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति लगायतको निर्वाचनका लागि तयारी गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचन गर्न आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला। छलफलमै प्रधानमन्त्री प्रचण्डले स्थानीय तह र मंसिर ४ को निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगका पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत कर्मचारीको उपस्थिती थियो ।










