
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा नागरिकले लाइनमा राख्दै सास्ती दिने काम बन्द गर्न निर्देशन दिएका छन् ।
आज सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिँदा नागरिकले लाइनमा बसेर सास्ती खेप्नुपर्ने कार्य एक महिनाभित्र बन्द नगरे कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् । उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले एक महिनापछि पनि अहिलेको जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने बताए ।
‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई ३० बुँदे निर्देशन पनि दिएका छन् ।










