
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही माघ ६ गते हुन गइरहेको निर्वाचनको लागि यतिबेला व्यवसायीहरुको दौड धुप चलिरहेको छ । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि प्यानल घोषणा गरेर व्यवसायीहरु दौड धुपमा छन् ।
निर्वाचनलाई लक्षित गर्दै डा. ईश्वर जिसी नेतृत्वको संयुक्त व्यवसायीक प्यानल भने यतिबेला उपत्यकामा भएका विभिन्न ठाउँका व्यवसायीसँग घरदैलो गर्दै अन्तरक्रिया गरिरहेको छ । सोमबार ललितपुर क्षेत्रका व्यवसायीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको व्यानलले मंगलबार बसुन्धरा क्षेत्रका व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ ।
बसुन्धराको यति पार्टी प्यालेसमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यो क्षेत्रका व्यवसायीका समस्या सुनी संघमा निर्वाचित भएपछि गर्न सक्ने सुधारका विषयमा प्रतिवद्धता समेत जनाएका छन् । साथै आफुहरु व्यवसायीका समस्या समाधानका लागि नै आफ्नो उम्मेदवारी रहेको पनि बताएका छन् ।
डा. इश्वर जिसी प्यानलले १६ बुँदे प्रतिबद्धता पनि जाहेर गरेको छ । समग्र व्यवसायीका समस्या सामाधानका लागि आफुहरु लागि रहेको पनि प्यानलले जनाएको छ ।













