
काठमाडौं । बैदेशिक रोजगार ब्यावसायिहरुको छाता सँस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारण सभा आज हुँदै छ । नयाँ नेतृत्व चयनका लागि हुने साधारणा सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् ।
संघको तदर्थ समितिले प्रधानमन्त्रीलाई यसअघि नै भेटेर संघको साधारण सभा उद्घाटन गरी व्यवसायीहरूको हौसला बढाइदिन आग्रहसहित निमन्त्रणा पत्र बुझाएका थिए । जवाफमा प्रधानमन्त्रीले वैदेशिक रोजगार व्यवसायीले रेमिट्यान्स भित्रयाउन खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै व्यवसायीहरूका कुरा सुन्न इच्छुक भएकाले साधारण सभा उदघाटनमा आउने जानकारी गराएका छन् ।
साधारण सभामा नवनियुक्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलराज अर्याल विशिष्ट अतिथि रहने छन् । त्यस्तै पूर्व मन्त्रीहरु र मन्त्रालयका सचिवलगायतका अतिथिको उपस्थिति रहने मुल समितिले जनाएको । यसैबीच आज हुने संघको निर्वाचन मतपत्रका आधारमा हुने भएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघमा साधारणसभासँगै हुने चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल प्रतिस्पर्धीमा छन । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धनबाट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा. ईश्वर जिसी र नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल र नेपाली कांग्रेसबाटै बागी संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन ।










