धरान । धरानका मेयर हर्क साम्पाङले अवैध रुपमा बनेका संरचना हटाउन थालेपछि स्थानियहरुले विरोध गरेक छन् ।
धरान उपमहानगरपालिकाले आज पनि सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेपछि स्थानियहरुले ढुंगामुढा गरेका छन् ।
आज दिउँसो धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाइएका घर, टहरा उपमहानगरको डोजरले भत्काउन सुरु गरेपछि स्थानियहरुले ढुंगामुढा गरेका छन् ।
डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ र केही स्थानिय घाइते भएको बताइएको छ ।
धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेसंगै त्यहाँ बनेका संरचना हटाईरहेको छ ।
उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी घर भत्काएर अतिक्रमित जग्गा खाली गराइएको नगप्रमुख हर्क साम्पाङले बताए ।
उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेकाले भत्काएर जग्गा खाली गरिएको मेयर साम्पाङले बताए । पहिलादेखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले खोलाको भाग सिमांकन गर्नुपर्ने माग राखेका थिए ।
उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुगेकी थिइन् । अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने बताएको थियो ।