आगलागीबाट जलेका सांसद भण्डारीको स्वास्थ्य खतरामुक्त

काठमाडौँ । कांग्रेस नेता एवम् संघीय सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको छ । काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यासबाट आगलागी हुँदा जलेर घाइतेभएका सांसद भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको हो ।
भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टर अस्पतालमा उपचाररत भण्डारीको दुईवटा अपरेसन सफल भएपछि स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका हुन्।

भण्डारीको सचिवालयले जनाएअनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन् ।

जलेर घाइते भएका भण्डारीको बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो तर त्यहाँ उपचार संभव नभएपछि भारत लगिएको थियो। उनलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारकालागि मुम्बई पुर्‍याइएको थियो ।

सिलिण्डर बिस्फोटमा परि सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार