
काठमाडौं । भारतीय कुटनीतिज्ञ एसडी मुनीले आसन्न नेपालको राष्ट्रपति पदको उम्मेदवारबारे चासो राखेको छन् । उनले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा चासो मात्रै राखेका छैनन्, राष्ट्रपतिका लागि उपयुक्त चार ब्यक्तिको नाम समेत सार्वजनिक गरेका छन् । सामाजिक संजाल टुइटरमार्फत मुनीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको समेत बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
नेपाली राजनीतिबारे जानकार मुनीले आज बिहान टुइट गर्दै राष्ट्रपतिका लागि योग्य उम्मेदवार भन्दै देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम उल्लेख गरेका छन्।
सत्ता साझेदार दल नेकपा एमालेले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ भने प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । राष्ट्रपति निर्वाचनले सत्ता गठबन्धन नै संकटमा पर्न सक्ने संकेत देखिएको छ ।
राष्ट्रपतिमा आफुलाई सहयोग गर्नुपर्ने भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापालगायतले हिजो रातीमात्रै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन २५ गतेको मिति तोकेको छ भने फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ ।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023










