
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइ नेपालको विकास नहुने बताएका छन् ।
आज बिहान प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलपछि उनले वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडी नबढाई नेपालको विकास नहुने बताएक हुन् । उनले अहिलेको युगमा विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास असंभव भएकाले यसमा सरकारको विशेष ध्यान रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले कुनै पनि देशको अस्तित्वका लागि अहिलेको समयमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकोमा उनले जोड दिए। अहिलेको युगमा जुन देशले विज्ञान र प्रविधिमा लगानी र प्रगति गर्छ त्यो टिक्छ र जसले गर्दैन त्यो नटिक्ने उनको भनाई छ ।
विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो। कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।
आविष्कार केन्द्रका प्रमुख पुनले आफुहरुले गरिरहेका कामहरुप्रति प्रधानमन्त्री निकै सकारात्मक रहेको र सरकारकातर्फबाट आविष्कार केन्द्रलाई चाहिने आवश्यक सबै सहयोग पाउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।











