
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले पदबाट राजीनामा गरेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाड्ने निर्णय गरेपछि एमाले मन्त्रीहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् । आज अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा बुझाएका छन्।
राष्ट्रपति चुनावका कारण एमालेसहितको पाँच दलीय सत्ता गठबन्धन भत्किएपछि एमालेले सरकार छोडेको हो । यहि फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादी, काँग्रेस लगायतका आठ दल एक ठाउँमा उभिएपछि एमाले अलग भएको हो ।
आठ दलीय गठबन्धनले राष्ट्रपतिमा काँग्रेसबाट रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।
माओवादीसहितको गठबन्धन हुँदा एमालेले राष्ट्रपति आफुलाई चाहिने हट नछोडेपछि गठबन्धन टुटेको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतीमा जोड दिदैं आएका थिए ।










