काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर भएको छ। रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ (१) बमोजिम पाँच बर्ष कैद सजाय माग्दै सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो । प्रहरीले अदालतबाट म्याद थप समेत गरेको छ ।
उक्त मुद्दामा दोषी ठहर भए एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । गीतकार महेश आचार्यले रेग्मीले सामाजिकसंजालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । उनको उजुरीको आधारमा फागुन ८ गते थाइल्याण्डबाट नेपाल फेर्कका रेग्मीलाई प्रहरीको साइबर ब्युरोको टिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
गीतकार आचार्यले दिएको उजुरीमा गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका छन् ।