प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज, कस्तो आउला आदेश ?

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण, द्वन्द्वपीडित कल्याण बुढाथोकी लगायतले गत मंगलबार सर्वोच्चमा दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

प्रचण्डले २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने भन्दै दिएको अभिव्यक्तिलाई लिएर आरण लगायतले रिट दर्ता गराएका हुन् ।

उनिहरुले प्रचण्डको उक्त अभिव्यक्तिले जनयुद्धमा हत्या गरेको स्विकारी वयान दिएकाले फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्नुपर्ने रिटमा दावी गरेका छन् ।

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ ९दर्ता नहुने० निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते प्रचण्डविरुद्ध रिट दर्ता भएको थियो।

जनयुद्धका घटनालाई लिएर माओवादीलाई अपराधीकरण गर्न खोजेको भन्दै माओवादी धारका ८ दलले बालुवाटारमा बैठक बसेर त्यसबिरुद्ध संयुक्त रुपमा प्रतिकार गर्ने प्रतिवद्धता गरेका थिए ।

प्रचण्डमाथि लगाइएको मुद्धा सिंगो माओवादी आन्दोलनमाथिको मुद्धा भएकाले माओवादी धारका विप्लव, मोहन वैद्य, सिपी गजुरेल, आहुती लगायतका आठ दलले संयुक्त रुपमा प्रतिकार गर्ने निर्णय गरेका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा नियमित अदालतमा हेर्न नहुने भन्दै माओवादी धारका सम्पुर्ण नेता कार्यकर्ताहरुले रिट दर्ताको कडा विरोध गरिरहेका छन्। विस्तृत शान्ति सम्झौता अनुसार द्वन्द्वकालीन घटना नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्दकालीन मुद्धाको न्याय निरुपण हुनुपर्ने माओवादी धारका पार्टीहरुको माग रहेको छ ।

माओवादी धारका आठ दलसंगै सत्ता साझेदार दल र कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनले पनि प्रचण्ड विरुद्ध दायर भएको रिट दर्ताको विरोध गरेका छन् ।

भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार