
काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल शितल निवास प्रवेश गरेका छन् । आज एक बिशेष समारोहकाबीच नवनियुक्त राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै विधिपुर्वक शितल निवास प्रवेश गरेका हुन् । पौडेल फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचन निर्वाचित भएका थिए । उनिसंग एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ पराजीत भएका थिए । त्यस्तै निवर्तमान विद्यादेवी भण्डारीलाई आजै राष्ट्रपति भवन शितल निवासबाट बिदाइ गरिएको छ । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई उपहारसहित बिदाइ गरेका छन् । निवर्तमान राष्ट्रपति भण्डारीको विदाई कार्यक्रममा नवनियुक्त राष्ट्रपति पौडेल, उपराष्ट्रपति नन्दकिशोर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागिता थियो ।
भण्डारीको बिदाइमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको थियो । राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् भने दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।
निवर्तमान राष्ट्रपति भण्डारीको सातबर्षे कार्यकाल विवादरहित हुन् सकेन । तर, नवनियुक्त राष्ट्रपति पौडेललाई यसअघिका राष्ट्रपति जस्तो दलहरुको स्वार्थमा काम नगर्न र गणतन्त्र नेपालको राष्ट्रध्यक्ष भएर काम गर्न जनस्तरबाट सुझाव आइरहेका छन् ।










