विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन चर्किदै गइरहेको छ । आज विराटनगरमा भएको विरोध प्रर्दशनमा प्रहरीले अश्रुग्याँस र हवाई फायर समेत गरेको छ । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सुरु गरेको आन्दोलनमामा आज प्रर्दशनकारीहरुले स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र तोड्दा प्रहरीले हवाई फायर गर्नु परेको हो । मुख्यमन्त्री कार्यालय नजिकैबाट प्रहरीले चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै उनिविरुद्ध चर्का नारा लगाएका थिए । आन्दोलनकारीहरुले पहिचानविरोधी भन्दै एमालेविरुद्ध पनि नाराबाजी गरेका छन् । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायर गर्नु परेको बताएको छ।
आन्दोलनकारीहरु हातमा राष्ट्रिय झण्डा बोकेर महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउसम्म पुगेका थिए । प्रदेश नाम कोशी खारेज गरेर पहिचानवादीहरुको मागअनुसार नयां नाम नराखेसम्म आन्दोलन जारि रहेने उनिहरुको भनाई छ ।