
काठमाडौं । मिटरब्याज पीडितहरुसँग सरकारले गठन गरेको टोलीबीच वार्ता हुने भएको छ । महोत्तरीको बर्दिबासबाट हिँडेरै काठमाडौं आइपुगेका पीडित र सरकारले गठन गरेको टोलीबीच बिहीबार वार्ता हुने भएको हो ।
सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्।
संयोजक शर्माले बिहीबार बिहान १० बजे मिटरब्याज पीडितसँग मन्त्रालयमा वार्ता हुने तय भएको जानकारी दिएकी छन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ।
महोत्तरीको बर्दिबास मिटरब्याज पीडितहरु हिँडेरै काठमाडौं आइपुगेका छन् । उनीहरुको मागलाई धेरै राजनैतिक दलले सम्बोधन समेत गरेका छन् ।










