कोशी प्रदेश नाम खारेजी आन्दोलनमा मृत्यु भएका लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय

काठमाडौँ । सरकारले कोशी प्रदेश नाम खारेजीको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

गत फागुन १७ गते प्रदेशसभाबाट कोशी प्रदेश नाम पारित भएको थियो । त्यसपछि पहिचानवादी संघ संस्थाहरुले आन्दोलन चर्काएका थिए। आन्दोलनका क्रममा चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय लिम्बु (लाजेहाङ्ग) को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरुसँग भेटेका थिए । त्यसपछि प्रचण्डको निर्देशनमा छानबिन समिति गठन समेत गठन गरिएको छ ।

हिजो मात्रै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशबाट आएका पहिचानवादी नेताहरुको टोलीलाई भेटेर माग संवोधानका लागि पहल गर्ने आश्वासन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार