गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताएका छन् ।
आज गोरखाको गोरखा अस्पतालको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्धी प्रचण्डले परिवर्तनलाई दिगो बनाउने ऐतिहासिक जिम्मेवारी आफ्नो काधँमा रहेको बताएका हुन् । उनले आफूलाई राम्रो काम नगरी आराम गर्ने छुट नरहेको समेत बताए।
गोरखाबासीले आफुलाई जिताएर दिएको जिम्मेवारी पूरा गर्नुपर्ने चुनौतीपूर्ण अवसर आफ्ना लागि रहेको उनको भनाई थियो । सरकार गठनका सय दिन पुरा भएपनि खास काम गर्न नसकेको गुनासोलाई स्विकार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपले सरकारका एक सय दिन उतारचढावमय रहेको बताए । देशको राजनीति जुन ठाउँमा आउनु पर्ने थियो त्यही सहि ठाउँमा आइपुगेको भन्दै यो सबैका लागि खुसीको कुरो भएको बताए ।
सरकारले पूर्णता पाएको र राजनीतिक स्थिरता मूलभूत रूपमा कायम गरिएको प्रचण्डको भनाई थियो ।
प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रमा देखिएको तरलताको समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र प्रधानमन्त्री कार्यालयबीच पटकरपटक छलफल भएको बताए । सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा कसैले पनि विरोध गर्ने ठाउँ नरहेको बताउँदै उनले नीति तथा कार्यक्रमको चुनौती भनेको कार्यन्वयन रहेको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंग्याउने पनि सत्ता गठबन्धन र सरकारको लक्ष्य रहेको बताए । संसद्मा पेस गरिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सबैको सहमतिमा अघि बढाएर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुमा जोड दिए ।