
काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने देखि प्रधानमन्त्रीलाई एसएमएस पठाउने लगायतका आन्दोलनका कार्यक्रम आज सार्वजनिक गरेका छन्।
वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने, वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने कार्यक्रम रहेको छ ।
प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरूले उठाउँदै आएका माग समावेश नगरिएकोले आन्दोलन गर्न लागिएको कर्मचारी संगठनले जनाएका छन् । कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा तथा सुरक्षालगायतका माग सम्बोधन गरी सरकारले चालु अधिवेशनबाटै संघीय निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।
निजामती सेवामा तहगत प्रणाली लागु गर्ने कि नगर्ने, प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय निजामती सेवाका कर्मचारी हुने कि प्रदेश वा स्थानीय तहका कर्मचारी हुने भन्नेलगायत विषयमा राजनीतिक सहमति बनिसकेको छैन।
कर्मचारी संगठनले बुधबार ७७ वटै प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् ।










