‘सकम्बरी’ करोड भ्यूज कटेपछि प्रकाश सपुतले मागे माफी

काठमाडौं। सर्वाधिक चर्चामा रहेको ‘सकम्बरी’ गीत एक करोड भन्दा बढि पटक हेरिएपछि गीतका सर्जक प्रकाश सपुतले माफी मागेका छन् । सपुतको सकम्बरीले गीत संगीतमा लागेका महिलाहरुको चरित्र हत्या गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले विरोध गरेपछि उनि माफी वाध्य भएका हुन् । संघले विज्ञप्ति जारी गर्दै सपुतलाई उक्त गीत युट्युबबाट हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
अमेरिकामा रहेका कलाकार समुतले सकम्बरी गीतबारे आएका विरोधहरुबारे फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका छन् ।  ‘मेरो सिर्जनाले प्रत्यक्ष÷अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु, कलाकार सपुतले स्टाटसमा लेखेका छन्।

प्रकाश सपुतले माफी मागेको पत्र :

श्री अध्यक्षज्यू,

रात्रिकालीन मनोरञ्जन व्यवसायी संघ, काठमाडौं ।

पछिल्लो गीत ‘सकम्बरी’ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्रमा छ । अझ भनौं विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ, प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र, कुनै अर्को क्षेत्रमा छँदै छैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ  । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारिक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रूपमा बुझिदिनुहोला ।

यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिए । म सधैं ऋणी छु । आभारी छु । र, साथै इमान्दारीका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुँदैनथ्यो भने ‘सकम्बरी’को कथा पनि मसँग हुँदैनथ्यो । गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरू आएपछि म सुरुमा अलिकति झस्किएँ । तर अहिले म खÞुसी छु । तपाईंहरु रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । पाँच वर्ष साँझमा काम गर्दै गर्दा मैले  अपमानजनक दृष्टिकोण खेपेको  छु । थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु । तर त्यहींबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौं र अगाडि बढ्यौं ।

त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामीभित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृत्ति छन् । त्यसमाथि  बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपाती छ । ठूलो समस्या छ । यसरी समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसारहित, विभेदरहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौं त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन् । त्यसैले यो देशकै समस्या हो ।

खैर, मेरो  सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदैछैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदैछैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहीं निर्माण भएको हो । त्यसैले  कमजोरी छैन भन्दिनँ । छ, तर सकिनसकी जानीनजानी गर्न खोजेको चाहिं समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होइन, देशका सबै क्षेत्रलाई, सबै अंगलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाईं हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।

बाँकी, म फर्किएपछि  दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म । कुनै मीठो भाका छान्दै गर्नुहोला । धन्यवाद ।

प्रकाश सपुत

अमेरिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार