‘विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ’

राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताएका छन् । आज बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागे मात्रै राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका हुन्।
विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे ।

‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ’, प्रधानमन्त्रीले भने ।

नेपालको अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । विश्वमा विभिन्न अर्थनीति अवलम्वन भइरहेकाले हामी कुन कुन बाटो जाने भन्नेमा अल्मलिनु आवश्यक नरहेको उनले बताए। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधनमा नै निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरिएकाले यो विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने बताए । उनले नेपालको नयां संविधान प्रगतिशील रहेको समेत बताए।

‘यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ । संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ । यसको अन्तर्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ । प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ । हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु, उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए । उनले राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्नेमा जोड दिने ।

‘निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन सकिँदैन। त्यसका लागि हामीबीच बलियो सहकार्य जरूरी छ । राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ’, उनले भने ।

वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील रहेको उनले बताए। पछिल्लोसमय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको प्रधानमन्त्री प्रचण्डको भनाईछ।

सार्वजनिक सेवामा सुधार आएको छ, विदेशमा रहेका लाखौं नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिँदैछन् ।

‘विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स बढेको छ । तर ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको छैन । त्यसका निम्ति अझै मेहेनत आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार