काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केहि दिनभित्रै समाजवादी मोर्चा निर्माण गरेर नेकपालाई पुनर्जीवित गर्ने बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा आज नेकपा एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामार्फत कम्युनिष्ट पार्टी एकताका लागि प्रयास हुने समेत बताए ।
नेकपा एकाध नेताहरुको सनकको कारण दुर्घटनामा परेको बताउँदै अध्यक्ष प्रचण्डले लाखौं जनता कम्युनिष्ट एकताको पक्षमा रहेकाले त्यसका लागि फेरि पनि आफुले पहल गरिरहेको बताए । कम्युनिष्ट पार्टीहरुका नेताहरुबीच आग्रह, पूर्वाग्राह नराखेर नेकपा निमार्णमा अघि बढ्न उनले आग्रह पनि गरे ।
उनले विगतमा भएको घटनाबाट शिक्षा लिँदै नयाँ प्रक्रियाबाट एकता अघि बढाउनु पर्ने पनि बताए । अध्यक्ष प्रचण्डले २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा झण्डै दुई तिहाई मत प्राप्त गरेकाले जनता कम्युनिष्ट एकताको पक्षमा रहेको स्पष्ट हुने बताए ।
उनले जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा नरहेको पनि बताए ।










