रूपन्देही । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले सरकार ढलेको हो। संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए ।
८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा मुख्यमन्त्री गिरीको पक्षमा ३३ सदस्यले मात्रै मत दिए भने विपक्षमा ५३ मत पर्यो । गिरीलाई एमालेका २९ र राप्रपाका ४ गरी ३३ सदस्यले मत दिएका छन् । सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ ।
पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । सरकार गठनको साढे तीन महिना र विश्वासको मत पाएको तीन महिनामै उनले दोस्रो पटक विश्वासको मतको सामना गरेका हुन् ।
केन्द्रमा काँग्रेस, माओवादी लगायतको नयाँ सत्ता गठबन्धन बनेपछि योसंगै गण्डकी र सुदूरपश्चिममा पनि एमाले नेतृत्वको सरकार ढलेका थिए ।