उत्पादन र रोजगारलक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गर्दै सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज किसान संगठनहरूका प्रतिनिधिहरूसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन र रोजगार सिर्जना गर्ने गरी सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने बताएका हुन् ।

‘उनले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए मात्रै समृद्धिको लक्ष्य हासिल गर्न सकिने समेत बताएका छन् । उत्पादनमा राज्यको सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न नसकिने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको भन्दै प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै रहेको बताए । किसान संगठनका प्रतिनिधिहरु संगको भेटमा उनले आफ्नो नेतृत्वको सरकारले ४ महिनामा निकै राम्रा काम गरेको पनि दावी गरे। लक्ष्यअनुसार काम नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको र विदेशी मुद्राको सिञ्चिति उत्साहवर्द्धक रूपमा बढेको र अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको प्रधानमन्त्री प्रचण्डको दावी थियो ।

लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ । भेटमा ६ वटा किसान संगठन आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार