एसीसी प्रिमियर कपः यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि चुम्यो


काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।

यूईएले दिएको ३३.१ ओभरमा सबै विकेट गुमाएर ११८ रनको लक्ष्य नेपाललाईदिएको थियो । जवाफी ब्याटिङमा मैदान उत्रिएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । जितका लागि गुलशन झा र भीम सार्कीको साझेदारी निर्णायक बन्यो । उनिहरुले अविजित ९६ रनको साझेदारी गरे । झाले ८४ बलमा ६ छक्का र ३ चौका हानेर ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । त्यस्तै नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भए ।

यूएईलाई सस्तोमा समेट्न नेपालका ललित राजवंशीले ४, करण केसी र सन्दीप लामिछानेले २ २ विकेट लिएका थिए ।

यूएईका रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए । हिजो वर्षाका कारण बीचमै खेल स्थगित भएको थियो । रोकिएको खेललाई आज निरन्तरता दिइएको थियो ।

नेपालको जितसँगै यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाउने पनि पक्का भएको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार