काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने धन्दामा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार ठानिएका इन्द्रजितलाई आज बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
उनका छोरा निरजलाई समेत पक्राउ गर्ने उदेश्यले गएको प्रहरी टोली गएको थियो । निरज बुवासंगै नभेटिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल यसअभि नै पक्राउ परिरहेका छन् । उनिहरुले दिएको बयानका आधारमा राईका बाबुछोरा पनि अनसन्धानमा तानिएका हुन् । निरज व्यापारी समेत भएकाले उनी नेपाल बाहिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईले नक्कली भुटानी शरणार्थी बनाएर विभिन्न चरणमा आफूबाट ५ करोड रुपैयाँभन्दा बढी रकम लिएको पक्राउ परेका हरुलेले प्रहरी समक्ष बयान दिएका छन् ।
यो प्रकरणमा तत्कालीन ऊर्जामन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी समेत मुझिएका छन् ।