
गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा हालेर फेरि द्वन्द्व फर्काउने चलखेल भइरहेको बताएका छन् ।
आज गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू र प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्धा हालेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने चलखेल भइरहेको बताएका हुन् । उनले आफुहरुविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको समेत बताएका छन् ।
भट्टराईले बृहत शान्ति सम्झौताले यस्ता विषय हल गरिसकेको बताउँदै शान्ति प्रक्रियाका बाँकी काम सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमार्फत हुनुपर्नेमा जोड दिए ।
नेता भट्टराईले जनयुद्धमा भएका घटनालाई लिएर माओवादी धारका नेताहरुमाथि एकपछि अर्को मुद्धा लगाइने हो भने देश दुर्घटना तिर जाने तर्क गरे ।
माओवादीका पूर्व बाललडाकु भनिएका लेनिन विष्टले आफूलाई युद्धमा बालसैनिक बनाएर प्रचण्ड र बाबुरामले युद्ध अपराध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमा सर्वोच्चले हिजो मात्रै प्रचण्ड र बाबुरामसँग लिखित जवाफ मागेको छ ।
माओवादी धारका नेताहरुले जनयुद्धका घटनालाई लिएर आफुहरुविरुद्ध विभिन्न षड्यन्त्र भइरहकाले त्यसको कडा प्रतिवाद गरिने समेत बताइरहेका छन् ।
सरकारको नेतृत्व गरिरहको माओवादी केन्द्रका नेताहरुले सरकारले भ्रष्टाचारीहरुविरुद्ध कडा कदम चाल्दै जनताको पक्षमा काम गरिरहेकाले विपक्षीहरु अत्तालिएको प्रतिकृया दिइरहेका छन् ।










