
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै आपत्ति जनाएका हुन्।
सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको समेत दावी गरे ।
उनले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी पनि गरे ।
भारतको एक पत्रिकालाई अन्तवार्ता दिदैं राजदूत शर्माले घुमाउरो पारामा हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको बताए । राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर नेपालको संविधान विरोधी काम गरेको भन्दै आरोप लगाए ।
सांसद पन्तले भारतले नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगरलाई समेटेर आफ्नो नयाँ संसद भवनमा राखेको अखण्ड भारतको विवादित नक्साका बारेमा नेपाल सरकारको धारणा समेत माग गरेका छन् । भारतले नेपाली भूमी समेटेर आफ्नो संसदमा राखेको अखण्ड भारतको नक्साबारे नेपालमा चर्को विरोध भइरहेको छ ।










