
काठमाडौँ । सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्माले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले भारतीय राजदूतले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले देशको अहितमा अभिव्यक्ति दिनु गलत भएको बताए । नेपाल मजदुर किसान पार्टीका नेता समेत रहेका सांसद सुवालले कूटनीतिक मर्यादाबाहिर गएर राजदूत शर्माले अभिव्यक्ति दिएकाले उनलाई तत्काल फिर्ता बोलाएर सरकारले स्पष्टीकरण सोध्नु पर्नेमा जोड दिए।
“भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, डेब्ट ट्र्यापुमा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो । तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्यो र स्पष्टीकरण सोध्नुपर्छ,” सुवालले भने ।










