कोशी प्रदेशका मन्त्रीको विवादित अभिव्यक्तिः ‘न्यायाधीश फटाहा र कलंक हुन्, पैसा खाएर आदेश दिए’


विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीका बारेमा विवादित अभिव्यक्ती दिएका छन् ।

विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको आरोप लगाएका हुन् ।

‘स्पष्टीकरण चित्त बुझ्दो नभएर हामीले उहाँलाई पदबाट हटायौं । अनि पदबाट हटाएपछि उच्च अदालतमा मुद्दा दायर भयो । हिजो उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्यसचिवको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्यसचिवले दिएको मुद्दामा स्टेअडर गर्न तयार छ । त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बद्नियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो’, मन्त्री राजभण्डारीले भने ।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अर्को दिन वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्यसचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि बर्खास्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार