
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसंन्धान र कारवाही अघि बढिरहेको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेमाथि थप अनुसंन्धान र कारवाही अघि बढेको बताएका हुन् ।
‘अनुसन्धानले केही पात्रहरुलाई अभियोजनको प्रक्रियामा अदालतमा अगाडि बढाइएको छ । पुर्पक्षमा थुनामा छन् र केही अनुसन्धानको प्रक्रिया अगाडि बढिरहेको र अनुसन्धानको तथ्य र प्रमाणका आधारमा थप कामवाही अगाडि बढ्ने पनि प्रष्ट नै छ’ गृहमन्त्रीले भने ।
शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु एमाले नेता टोपबहादुर रायमाझी, काँग्रेस नेता बालकृष्ण खाँणसहित १६ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाईसकेको छ ।
पहिलो चरणको अनुसन्धान पूर्ण नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ ।
दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले संसदलाई जानकारी गराएका छन् ।
भुटानी शरणार्थी प्रकरणमा काँग्रेस र एमालेका अन्य नेता, कार्यकर्ताहरु संलग्न रहेकाले उनिहरुमाथि पनि अनुसंन्धान र कारवाही हुनु पर्ने आवाज उठिरहेको छ ।









