जिल्ला अदालतकी सुब्बा प्रेमिका तामाङमाथि कार्यकक्षमै कुटपिट गर्ने वकिल पक्राउ

ललितपुर। ललितपुर जिल्ला अदालतकी नायब सुब्बा पे्रमिका तामाङलाई कुटपिट गर्ने अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्।
महिला कर्मचारीमाथि अदालतको कार्यकक्षमै हातपात गरेर भाग्न खोजेका लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ । पीडित तामाङले लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिइसकेकी छन् । लामिछानेमाथि प्रहरीले अनुसंन्धान र कारवाही प्रकृया सुरु गरेको जनाएको छ ।

अधिवक्ता लामिछानेले मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि सुब्बा तामाङले मिसिल बाहिर लान मिल्दैन भन्दा उनीमाथि मुक्का प्रहार गरेका थिए ।

लामिछानेको मुक्का प्रहारबाट अगाडीको दुईवटा दाँत हल्लिनुका साथै ओठमा चोट पुगेको तामाङले बताइन्। लामिछानेले तामाङलाई लछारपछार गर्दै उनको सरकारी पोसाकको बाहुलासमेत च्यातिदिका थिए ।

पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादी भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेस रहेका अधिवक्ता लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैँ कागजातहरू पल्टाई हेर्न थालेकोमा ‘मिसिल नहेर्नुस्, कागजातहरू हराउँछ, अहिले भिडभाड छ तपाईंलाई आवश्यक भए नक्कल सारी हेर्नुहोला’ भनेपछि लामिछानेले ‘तँ धेरै जान्ने हुन्छेस्, तँ को हो ? तँलाई देखाउँछु’ भन्दै मुख छाडेर अपशब्द बोल्दै गालीगलौज गरी सुब्बा तामाङमाथि हातपात गरेका थिए।

पीडित तामाङले आफुमाथि हातपात गर्ने लामिछानेलाई कडा कारबाही हुनुपर्ने बताएकी छन् । अनमोलपोस्टसंग टेलिफोनमा संक्षिप्त कुरा गर्दै उनले लामिछानेको लाइसेन्स खारेज गरी हदैसम्मको कारवाही हुनुपर्ने माग गरिन् । तामाङमाथि भएको हातपात घटनाको एकीकृत सरकारी कर्मचारी संगठन नेपालले घोर भत्सना गर्दै दोषीमाथि हदैसम्मको कारवाहीको माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार