
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानरका संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयका शिक्षकहरुको तलब कम भएको भन्दै उनले नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई शिक्षकहरुलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका छन् । उनले शिक्षकको तल सिट सहितको पोष्ट सामाजिक संजालमा सार्वजनिक गर्दै शिक्षा ऐन, २०२८ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको बताएका छन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको मेयर शाहले स्मरण गराएका छन् ।
सरकारले तोकिदिएको तलब सुविधा प्राप्त नभएमा महानगरको शिक्षा विभागमा सम्पर्क गर्न मेयर शाहले अनुरोध गरेका छन् । महानगरको शिक्षा विभागका अनुसार महानगरमा ५ सय ४० वटा संस्थागत विद्यालयहरु छन् ।
शिक्षा विभागमा अधिकांश संस्थागत विद्यालयले ऐन अनुसार शिक्षकहरुको तलब स्केल नदिएको भन्ने गुनासो आएको महानगरले जनाएको छ । पछिल्लो समय शाह शैक्षिक सुधारका लागि महानगरभित्र विभिन्न नयाँ नयाँ काम गरिरहेका छन् ।










