शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जी.पी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए । उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’

दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताउए । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा थियो । प्रधानमन्त्रीले भने, ‘शान्ति, संविधान र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ । यसका प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला हो ।’

उनले अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको बताएका छन् । उनले भने, ‘गिरिजाप्रसादको पार्थिव शरीर अगाडि गरेको सङ्कल्प, त्यो दिन जनताको भाव, लाखौँको जनसागरलाई यति छिटै बिर्सने र पुरातनतिर फर्कन खोज्ने हामी नेपालीको दृष्टि के हो भन्ने आम प्रश्न पनि छ । हामीले व्यवस्था बदल्न साहस गर्यौं, जनताको अवस्था बदल्न सकेनौं त्यसमा आत्मसमीक्षा गर्न जरुरी छ ।’

उनले कोइरालाको चाहनाविपरीत कतिपय निर्णय गर्दा पनि आफूप्रति विश्वास गर्न नछोडेको बताउँदै कोइराला नभएको भए गणतन्त्र आउन नसक्ने पनि उल्लेख गरे । प्रधानमन्त्रीले बिरामी भएर अस्पतालमा मृत्युसँग जुधिराहेका बेला कोइरालाले आफूलाई एक्लै बोलाएर देशको जिम्मा लगाएको स्मरण पनि प्रचण्डले गरे ।

साथै गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा आफुलाई ठुलो पश्चात्ताप भएको पनि उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार